Websoft University
June 2016

धरान । दुई बर्षअघि तत्कालिन पाँचकन्या गाविस धरानमा गाभिएपछि अहिले धरान उपमहानगरपालिकाको २१ नम्बर वडामा रहेको शिवजट्टा पर्यटकिय गन्तव्यको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ । धरान बजारबाट करिब ५ किलोमिटर उत्तर पुर्वमा अवस्थित शिवजट्टा धार्मिक पर्यटनको सम्भावना बोकेको स्थल हो । यसको प्रचार प्रसार गर्न सके धार्मिक पर्यटन सहित प्राकृतिक पर्यटकको विकाश गर्न सकिन्थ्यो ।  धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार हिन्दुका आराध्यदेव शिवले सतीदेवीको शव बोकेर भौतारि हिड्दै गएको अवश्थामा विस्तारै सतीदेवीको शरीरको सबै अंग पतन भइसकेपछि शिव जीको चेत खुल्दा आफ्नो शरीर ज्यादै फोहोर पाए पछि उनले यही शिवजट्टाको झरनामा नुहाएको किवंदन्ती छ । नुहाउने क्रममा उनको जट्टा त्यस ठाउँमा झरेकाले नै यसलाई शिवजट्टा भनिन थालिएको स्थानिय जमानवीर राई बताउनुहुन्छ । शिव जट्टालाई शिव बास बसेकाले शिवकुण्ड पनि भनिने गरिएको उहाको भनाई छ ।
shiv jatta photo
धरान उपमहानगरपालिकाको २१ नम्बरमा पर्ने यस शिवजट्टामा झरना बगीरहन्छ । नजिकै शिवालय पनि छ । धरानबाट करिब ५ किलो मिटरमा पुर्व उत्तरमा रहेको यस झरनामा साउन महिनामा नुहाउदा रोगव्याधी हरण हुने विश्वास छ । झरना नजिकै शिवालय छ । कच्ची बाटो बनेपनि शिवजट्टासम्मै भने छोएको छैन । थोरै पैदल हिड्नुपर्छ । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको ठाउँ हो शिवजट्टा । यसको प्रचार, प्रर्वद्धन र विकासमा कसैको पनि ध्यान पुगेको छैन । विश्वकै उदाहरणलाई हेर्ने हो भने पनि पानी प्रति पर्यटकको आकर्षण बढ्दो छ । तर धरानमै चौबिसै घण्टा पानी बगिरहेने ठाउँ हुँदा पनि त्यसलाई धरानले पहिचान गर्न नसकेको पर्यटन व्यवसायी बासुदेव बरालको भनाई छ । धरानमा पानीको अभाव भईरहँदा शिवजट्टामा झरनाबाट पानी बगिरहेको छ, यसलाई धरानेहरुले नदेखिरहेको उहा बताउँहुन्छ् । पानीमा रमाउन चाहने पर्यटनको विकाश गर्न सम्बन्धित निकायले पनि ध्यान दिन नसकेको उहाले बताउनुभयो । त्यहाँ सम्म जाने बाटो निर्माण र त्यसको प्रचार प्रसार गर्ने हो भने प्रकृतिक रुपमा मनोरम शिवजट्टा ओझेलमा नपर्ने उहाको भनाई छ ।
तराईका क्षेत्रमा रहेका पर्यटकलाई नजिकै रहेको झरनाले आकर्षण गर्न सक्ने उनको दाबी छ । धरानमा पर्ने दुई ठुलो खोलामध्ये सेउतीको शिर पनि शिवजट्टा हो । झरना पुग्ने बेला पुल तर्नु पर्छ । करिब दुई घण्टा अधिकांश सिधा बाटो र थोरै उकालो बाटो हिडेपछि गन्तव्य आइपुगिन्छ । झरना पुग्नुअघि स्थानियवासीले बनाएको मन्दिर छ । केही वर्ष अघि सम्म शिवरात्रीका दिन भारतका जोगिहरु आएर धुनी बालेर ३ महिना सम्म बस्ने गर्दथे । तर पछिल्लो समय जोगिहरु आउँन छाडेका छन् । काठमाडौंको पशुपति क्षेत्र भन्दा पनि बढी शिवजट्टाको महत्व रहेको कथन छ । धार्मीक महत्व बोकेको यस धार्मिक स्थलको प्रचारप्रसार गर्ने हो भने यहाँ पनि धेरै श्रद्धालु भक्तजनहरु आउन सक्ने थिए । त्यहासम्म पुग्ने बाटो निर्माणका लागि स्थानीयहरुले माग गरेका छन् ।

धरानको इतिहास : कोशी अञ्चलको सुनसरी जिल्ला अन्तर्गत पर्ने धरान एकसय १७ वर्ष अगाडीसम्म हालको चारकोशे झाडीको निरन्तरता थियो । घना जंगल र टन्टलापुर घाम लाग्ने बगर सहितको अप्ठयारो जमिनमा वि.सं. १९५० वाट फाट्टफुट्ट वस्ती शुरु भएपछि शहरको रुपरेखा कोरिएको हो । जंगल फडानीका क्रममा काठ चिर्ने आरावालहरुले काठलाई धरान (काठको माच) मा राखी चिर्दै गर्दा यस ठाउँको नाम धरान रहन गएको भनाई छ ।
१९५९ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले चन्द्रनगर (हालको धरान–३, पुरानो बजार) स्थापना गरे । १९९० मा अर्का प्रधानमन्त्री जुद्ध शमशेरले जुद्ध नगर (हालको धरान–५, नयाँ बजार) शुरु गरेपछि धरानले विकास तर्फ पाईला शुरु गरेको जानकारहरु बताउँछन् । ०१० मा बेलायत सरकारवाट पुर्वाञ्चलका लागि गोरखा भर्ति केन्द्र (ब्रिटिस क्याम्प) स्थापना भएपछि भने धरानले आधुनिक विकास शुरु गरेको हो । ०१७ मा धरानलाई नगरपालिका घोषणा गरी ०१८ मा कोशी अञ्चलको सदरमुकाम नै तोकिएको थियो ।
भर्ति केन्द्र स्थापना भएपछि धरानमा बेलायती उच्च अधिकारी र गोरखा सैनिकहरुको जमघट बढ्दै गयो । विदेशी संस्कार, सभ्यता र स्वभावहरुको प्रभावसँगै बेलायती पुँजीको लगानी तथा प्रयोगले आर्थिक विकास हुँदै गयो । धरान तथा आसपासका नेपाली युवाहरुलाई भर्ति गराई बेलायत सरकारको प्रयोजनका लागि अन्य विकसित देश लैजाने र केहीलाई धरानमै राख्ने प्रक्रियाले उनीहरुको कमाईले धरान नै सिञ्चित हुने अवसर पायो । ०४५ सालमा व्रिटिस क्याम्प हटेपछि भने धरान संकटमा पर्ने हो की भन्ने द्धिविधा थियो । क्याम्पले एक सुविधा सम्पन्न मेडिकल कलेजको रुपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुर्वाधार छाडेर जानु र सन् १९९४ अक्टोबर १९ का दिन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले प्रतिष्ठानको सिलान्यास गर्नुले धरानको विकास निरन्तरता भंग हुन पाएन । दक्षिण एशियाकै एक सुविधा युक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा यसले धरानकै परिचय र समाजिक विकासलाई मुखरित गरिरहेको छ ।
दशक अघिसम्म पनि धरान र लाहुरे पर्यायवाची शब्दझैँ थियो। अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर मात्रै बनाएनन्, आधुनिकीकरणको बाटोमा पनि डोर्यारए।
लाहुरेले बनाएको शहर
दशक अघिसम्म पनि धरान र लाहुरे पर्यायवाची शब्दझैँ थियो। अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर मात्रै बनाएनन्, आधुनिकीकरणको बाटोमा पनि डोर्यारए। ०४६ को परिवर्तनपछि नगरपालिकाले विकास निर्माणमा जनसहभागिताको नीति लिँदा लाहुरेले साथ दिए। धरानको विकासले तीव्रता पायो। चिटिक्क घर, सुन्दर बगैँचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान र गौरव बन्यो। नगरको कुना–कुनामा पक्की सडक बन्यो। धरान घुम्नेहरू युरोपको कुनै सहर जस्तै भन्छन्। धरानलाई समृद्ध, धनी र सभ्य मानिस बस्ने सहर भन्न थालियो।
गेसो आन्दोलन हाँकेका गजेन्द्र इस्पोका अनुसार ०३६ सालपछि बसोबास बढे पनि ०४६ सालको राजनीतिक परिवर्तनपछि लाहुरेको बसोबस धरानमा ह्वात्तै बढ्यो। ब्रिटिस सेनाबाट अवकाश पाएपछि धरानमा घडेरी किनेर घर बनाउन थाले। ०४६ देखि ०५६ सालको बीचमा धरानमा लाहुरेको सघन बसोबास भइसकेको थियो। ‘यही समय हामी विकास निर्माणमा लाग्यौं, नगरपालिकाले अघि सारेको जनसहभागिताको भिजन कार्यान्वयन गराउन साथ दियौं,’ इस्पो सम्झन्छन्।

धरानको विकाससँगै व्यापार–व्यवसाय टिक्नुमा भूपू लाहुरेको ठूलो योगदान छ। गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरान पूर्वकै आर्थिक, व्यापारिक केन्द्र बनेको थियो। धरानमा अन्य सहरको तुलनामा उद्योग, कलकारखाना स्थापना भने हुन सकेनन्। भूपू लाहुरेको पेन्सन (रेमिट्यान्स) को भरमा यहाँको अर्थतन्त्र लामो समय टिक्यो। केही भूपू लाहुरे व्यापार–व्यवसायमा पनि होमिए।
धरान फेसनेवल सहरका रूपमा चिनिनुमा पनि लाहुरे परिवारकै देन छ। काठमाडौंभन्दा पहिल्यै नयाँ फेसन धरानमा भित्रिन्छ भन्ने मान्यता छ। लाहुरे परिवारको सम्बन्ध हङकङ, बेलायत, ब्रुनाईमा भएकाले पनि त्यताको फेसन सिधै धरानमा भित्रिएको हो। व्यवस्थित रूपमा मासु पोलेर खाने बिबिक्यु चलन पनि लाहुरेले नै युरोपबाट भिœयाएको मानिन्छ।
धरानको विकासमा तर सन् २००९ मा बेलायतले आवासीय भिसा दिने निर्णय गरेपछि धरान लाहुरेविहीन सहरमा परिणत हुँदै गएको छ। इस्पोका अनुसार करिब १० हजार घरघुरीको संख्यामा रहेका भूपू लाहुरेमध्ये अधिकांश बेलायत गइसकेका छन्। यसले धरानको व्यापार, व्यवसाय एवं अर्थतन्त्रलाई खुम्च्याइदिएको छ। ज्यादै वृद्ध र व्यवसायमा लागेका मात्रै करिब २५ प्रतिशत भूपू बेलायत गएका छैनन्।
पुर्वको पर्यटकीय केन्द्र
धरान पुर्वाञ्चलकै ‘टुरिज्म हब’को रुपमा विकास हुँदै गएको छ । अवस्थिती, प्राकृतिक सुन्दरता र वातावरण पनि यसका लागि अनुकुल छ । समुन्द्री सतहदेखि ३०५ देखि ७०० मीटर उचाईमा ओरालो सतहमा फैलिएको यसको क्षेत्रफल १३१.६५ वर्गकिमी छ । पुर्वी पहाडी जिल्लाहरुतर्फ आवतजावतका लागि यही शहर नाकाको रुपमा रहेको छ ।
समशीतोष्ण (न धेरै गर्मी न धेरै जाडो) प्रकारको हावापानीका कारण कुनैपनि बेला आउने आन्तरिक वा वाह्य पर्यटकका लागि धरान सहज छ । धरान नगरपालिकाको तथ्याँक अनुसार यहाँ १ सय १३ वटा होटल, लज तथा गेष्टहाउसहरु सञ्चालित छन् । सामान्यदेखि अत्याधुनिक सुविधासम्पन्न यी होटल लजहरुमा कुनैपनि आर्थिक हैसियत भएका पर्यटकहरु सहजताका साथ सेवा लिनसक्छन् । सवै होटल र लजहरुले लोडसेडिङको समयमा विजुली र गर्मीका समयमा पानीको वैकल्पिक व्यवस्था गरेका छन् ।     भूपू लाहुरेहरुको अधिक बसोबास रहेको धरानमा बासिन्दाको उच्च आर्थिक हैसियत र जनसहभागीतामा एकताकै कारण सरकारको विकास निर्माणको ४०ः६० को अवधारणा लागु गर्न सहज भएको धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा बताउनुहुन्छ । यसले गर्दा धरानमा आन्तरिक सडक, पार्क, चौक, शहरी व्यवस्थापन सहज भएको उहाँको भनाई छ । नगरपालिकाको तथ्याँकअनुसार ६५ किमी पक्की सडक निर्माण भईसकेको छ ।
धार्मिक पर्यटन
धरानको पर्यटकीय क्षेत्रमा सवैभन्दा बढि विकास धार्मिक पर्यटनमा भएको छ । नपाको तथ्याँक अनुसार धरानमा ५० मन्दिर, ९ गुम्बा, ३८ चर्च र १ मस्जिद रहेकाछन् । बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, शनि लगायत धरानका प्रमुख मन्दिर हुन् । बुढासुब्बा र दन्तकालीमा नियमित दैनिक जसो पुजाअर्चना गरिन्छ भने पिण्डेश्वर प्रत्येक वर्ष साउन महिनाभरिको बोलबम मेलाका लागि नेपाल र भारतमा चर्चित छ । यसैगरी बाबा विश्वकर्माको भक्तिदर्शनका लागि प्रत्येक शनिबार धरानको तीनकुनेस्थित शनि मन्दिरमा भीड लाग्ने गरेको छ । ०३२ सालमा स्थापित हिमालय महायान देछेन छ्योलिङ गुम्बा विशेषतः शेर्पा समुदायको गुम्बा हो भने ०४० सालमा स्थापित नेपाल बौद्ध गुम्बा विशेषतः तमु(गुरुङ) जातिको गुम्बा हो ।

०४६ सालमा स्थापित हिमालय महायान रिन्छेन छ्योलिङ बुद्धिष्ट गुम्बा भने तामाङ समुदायको गुम्बा हो । तीनवटै गुम्बामा नियमित पुजा पाठ हुने गरेको छ । धरानको सवैभन्दा ठुलो चर्च धरान ११ स्थित हिसप चर्च हो । ०५२ सालमा यसको स्थापना भएको हो । सबैभन्दा पुरानो चर्च भने धरान ९ को पवित्र चर्च हो जुन ०२५ मा स्थापना भएको हो । सवै सानाठुला चर्चहरुमा प्रत्येक शनिबार प्रार्थना गर्ने गरिएको छ ।
Budha_Subba_Temple_Dharan_Bijayapur4
साँस्कृतिक पर्यटन
धरान आदीवासी जनजातिहरुको शहर हो । यहाँका बासिन्दामध्ये करिब ८० प्रतिशत  आदीवासी जनजाति छन् । यो समुदाय साँस्कृतिक रुपले धनी मानिन्छ । यहाँ किरात राई, लिम्बु, गुरुङ, मगर, तामाङ आदीको सघन बसोबास छ । उनीहरुका जातिय मौलिक भाषा, भेष, संस्कार, परम्परा छन् । मौलिक सन्दर्भहरु आन्तरिक वा बाह्य पर्यटकहरुका लागि चासोका विषय हुन् । विविध अवसरहरुमा जातिय समुदायहरुले मौलिक संस्कारहरुलाई सार्वजनिक गर्दै आएकाछन् भने साँस्कृतिक सौन्दर्यहरुलाई झल्काउने पर्यटकिय स्थलहरु पनि धरानमा पर्याप्त छन् । विजयपुरको पञ्चकन्या बनक्षेत्रको अन्तिम उचाईमा रहेको बुद्धिकर्ण दरबार स्थल एक हो । किरात राजा हाङ बुद्धिकर्णले अन्तिम कालमा राज्य गरेकाले यसलाई बुद्धिकर्ण दरबार भनिएको हो । धरानका किरात राई समुदाय आफ्नो महान चाड साकेला उधौली उभौली यही दरबारमा पुजा गरी शुरु गर्नेगर्दछन् ।
वडा नं. १४ मा बहुजातिय संग्रहालय निर्माणाधिन अवस्थामा रहेको छ । नेपाल आदीवासी जनजाति महासँघ सुनसरीको पहलमा निर्माण अघि बढेको हो । यसलाई आदीवासी जनजातिका ऐतिहासिक, सामाजिक, साँस्कृतिक लगायत विविध विषयवस्तु साथै बास्तुकला र खानपान झल्काउने जीवन्त संग्रहालयको रुपमा निर्माण गर्ने लक्ष्य रहेको निर्माण समिति संयोजक सुजेन्द्र गोले बताउनुहुन्छ । यो संग्रहालय निर्माण पश्चात आदीवासी जनजातिको साँस्कृतिक पहिचानका लागि अन्य ठाउँ भौतारिरहनुनपर्ने उहाँको भनाई छ । धरान १९ मा ०५३ मा स्थापित यलम्बर पार्क, धरानको तिनकुने स्थित सिरिजङ्गा शालिक परिसर, धरान १७ स्थित साकेला पार्क, धरान १७ कै सप्तरंगी पार्क, धरान १० स्थित यलम्बर स्मृति संग्रहालय लगायत पर्यटकीय स्थलहरुले धरानलाई साँस्कृतिक पर्यटकीय शहरको परिचय दिन्छन् ।
खेलकुद पर्यटन
धरान खेलकुदको राजधानीका रुपमा विकास हुँदै गएको छ । स्थानियदेखि अन्तर्रराष्ट्रिय स्तरसम्मका खेलकुद प्रतियोगीताहरु धरानमा आयोजना हुँदै आएकाछन् । विगत १५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्रराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप धरानको शानको रुपमा रहेको छ । ०५५ मा शुरु भएको यस प्रतियोगीताको पछिल्लो, १५ औँ संस्करण ०७० चैत्र ३१ गते धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न भएको थियो । प्रतियोगीतामा नेपालका ए डिभीजनका टिमदेखि भारत, भुटान, बंगलादेश लगायत देशका टिम सहभागी हुँदै आएकाछन् । यसबाहेक बक्सिङ, कराते, चेस, भलिबल, गल्फ लगायतका राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय प्रतियोगीताहरु धरानमा सम्पन्न हुँदै आएकाछन् ।
धरान १६ मा अन्तर्रराष्ट्रिय मापदण्डको रंगशाला निर्माणाधिन छ । यो बेलायती सरकारको सहयोगमा निर्माण भईरहेको हो । राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को गोलप्रोजेक्ट अन्तर्गत धरान १७ मा एन्फा टेक्निकल सेन्टर ०५७ देखि सञ्चालित छ । अन्तर्रराष्ट्रिय फुटबल प्रतियोगीता आयोजना गर्न सकिने मापदण्ड अनुसारको प्यारापिट सहितको मैदान, प्रशिक्षण हल र खेलाडी तथा प्रशिक्षक आवासका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न हुँदै आएको बुढासुब्बा गोल्डकप रंगशाला निर्माणाधिन अवस्थामा रहेकाले पछिल्लो समय यही मैदानमा आयोजना हुँदै आएको छ ।
धरान १८ मा विपी प्रतिष्ठान परिसरभित्र १८ होलको गल्फ कोर्ष रहेको छ । अन्तर्रराष्ट्रिय मापदण्डको यो कोर्ष नेपालकै ठुलो दाबी गरिएको छ । धरानमा व्रिटिस क्याम्प रहँदा निर्माण गरिएको यो कोर्षमा तत्कालिन समय बेलायती उच्च अधिकारीहरु गल्फ खेल्न आउँथे । यहाँ अन्तर्रराष्ट्रिय सूर्य ओपन गल्फ टुर्नामेन्ट र अरु प्रतियोगीताहरु नियमित आयोजना हुँदै आएकाछन् ।
शैक्षिक पर्यटन
धरानमा शैक्षिक पर्यटनका लागि पनि पुर्वाधारहरुको कमी छैन । धरानको प्राकृतिक सुन्दरता, यहाँको साँस्कृतिक मौलिकता र अन्य पर्यटकीय महत्वहरुको अवलोकन र जानकारीका लागि नेपाल र छिमेकी देशका शैक्षिक संस्थावाट बर्षेनी शैक्षिक भ्रमण हुँदै आएको छ । हात्तिसार क्याम्पसका नामले ०३० मा स्थापित केन्द्रिय प्रविधि क्याम्पस त्रिविसम्बद्ध पहिलो केन्द्रिय प्रविधि क्याम्पस हो । यहाँ खाद्य प्रविधि विषयमा एम.टेक.सम्मको अध्यापन हुँदै आएको छ । क्याम्पसले खाद्य प्रविधिका गुणस्तरिय जनशक्ति उत्पादन गर्दै आएको छ । ००८ मा धरान १४ मा स्थापित पिण्डेश्वर विद्यापिठमा संस्कृत भाषामा उत्तरमध्यमा, शास्त्री र आचार्यसम्मको अध्यापन हुने गरेको छ । संस्कृतका अलावा अंग्रेजी, नेपाली, हिन्दी, नेवारी र पछिल्लो समय लिम्बु मातृभाषामा पनि अध्यापन हुँदै आएको छ ।
बीपी प्रतिष्ठान धरानको महत्वपुर्ण शैक्षिक तथा स्वास्थ्यकेन्द्र हो । स्वास्थ्य विज्ञान विषयको स्वायत्त शैक्षिक प्रतिष्ठानको रुपमा यहाँ एम.डी., एम.बी.बी.एस., बी.एस्सी. लगायत विषय अध्यापन हुन्छ । दन्त चिकित्सा, पब्लिक हेल्थ आदी विषयमा पनि अध्यापन हुँदै आएको छ । यहाँ विभिन्न संकाय र तहमा नेपाल र विदेशका गरी वार्षिक २ हजार भन्दा बढि विद्यार्थी अध्ययन गर्छन् । प्रतिष्ठानको शैक्षिक प्रगति, अनुकूलताहरुका आधारमा आगामी दिनमा चिकित्सा विज्ञान विश्वविद्यालयकै रुपमा विकास गर्ने नेपाल सरकारले योजना बनाएको छ । यता धरान १५ मा दृष्टिविहिनहरुका लागि पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय सञ्चालित छ । ब्रेललिपीको माध्यमवाट औपचारिक शिक्षा दिइने यो नेपालको एकमात्र विशेष विद्यालय हो । ०३४ मा स्थापित यस विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुन्छ । नेपालको २२ जिल्लाका ८५ दृष्टिविहीन विद्यार्थी यहाँ अध्ययनरत छन् । धरान ८ मा रहेको ०३५ सालमा स्थापित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ओभरसियरमा सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, रेफ्रिजिरेशन एण्ड एयरकण्डिसन, मेकानिकल र ब्याचलरमा सिभिल र कृषि इन्जिनियरिङ अध्यापन हुन्छ । धरान १० मा अवस्थित ०१२ मा स्थापित महेन्द्र बहुमुखी क्याम्पस धरानको पहिलो क्याम्पस हो । पुर्वी पहाडी जिल्लाको शैक्षिक केन्द्रका रुपमा रहेको यस क्याम्पसमा वार्षिक ३ हजार विद्यार्थी अध्ययन गर्छन् । यसका लागि भारत सरकारको सहयोगमा नयाँ आधुनिक भवन निर्माण गरिएको छ । धरान ४ छाताचौकमा ००४ सालदेखि सार्वजनिक विद्याभवन नामक पुस्तकालय सञ्चालित छ । ०२६ सालदेखि धरान नगरपालिकाले सरकारी निकायकै रुपमा सञ्चालन गरिरहेको यस पुस्तकालयमा नेपाली, हिन्दी, अंग्रेजी लगायत भाषाका ३ हजार ५ सय ८३ थान पुस्तक र ५८ पत्रपत्रिका उपलब्ध छन् ।
पर्यावरणीय पर्यटन
भानुचौक धरानको मुटु हो । यसको केन्द्रभागमा निर्मित धरान घण्टाघरले धरानको स्पष्ट परिचय दिएको छ । धरान हङकङ मञ्चको सहयोगमा निर्मित घण्टाघरमाथि चढेर धरान वरपरको दृश्यावलोकन गर्न सकिन्छ । ०४५ सालमा गएको महाभूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा पार्क परिसरमा भूकम्प स्मारक निर्माण गरिएको छ । धरान १४ विजयपुरदेखि उत्तरको जंगलक्षेत्रमा सञ्चालित पञ्चकन्या रिसोर्ट छुट्टै विशेषता भएको रिसोर्ट हो । यहाँवाट धरानको प्रायः सवै भाग अवलोकन गर्न सकिन्छ । खेलमैदानको व्यवस्था रहेको रिसोर्टमा जंगली जनावर र पंक्षीहरुको मिनी चिडियाखाना समेत छ । धरान १३ का व्रिटिस वेल्फेयर कार्यालय, भारतिय पेन्सन वितरण कार्यालय, धरान ८ का धरान सभागृह, बुद्ध विहार, धरान औद्योगिक क्षेत्र, धरान रिक्रियशन सेन्टर स्विमिङ पुल लगायत स्थलहरुले धरानको पर्यटकिय विकासमा टेवा दिएकाछन् । धरान १९ का यलम्बर पार्क र हरियाली पार्क रमाइला पिकनिक स्थल हुन् ।
dharan-nepal
धरानदेखि उत्तरतर्फ १८ किमीको दुरिमा भेडेटार अवस्थित छ । भेडेटारको उच्च भागमा चाल्र्स पोइन्ट छ जहाँ भ्यू टावर निर्माण गरिएको छ । यहाँवाट धरान लगायत पुर्वी पहाडी जिल्लाका धेरैजसो जिल्लाको अवलोकन गर्न सकिन्छ । ०४० सालमा नेपाल भ्रमणमा आएका बेलायती राजकुमार चाल्र्स एडिनबराले आरोहण गरेपछि यो भागको नाम चाल्र्स पोइन्ट राखिएको हो । धरानवाट ८ किमी उत्तरपुर्वतर्फ पैदल हिँडेपछि सेउती खोलाको उद्गम स्थल शिवजट्टा पुगीन्छ । धार्मिक रुपमा यो ठाउँलाई शिवगंगा र भारतको गंगाको उद्गमस्थल गंगोत्री मानिन्छ । यहाँ आकर्षक छाँगा र छहराहरु छन् । धरानवाट पश्चिमतर्फ २ घण्टाको सवारीपछि कोशी टप्पु वन्यजन्तु आरक्षक्षेत्र पुगीन्छ । नेपालकै प्रमुख जैविक विविधतायुक्त रामसार तथा पर्यटकिय क्षेत्र घोषित यस क्षेत्र अर्नाको स्वतन्त्र विचरणका लागि विश्वप्रसिद्ध छ । २ सय ८० प्रजातिका चरा पाइने यस क्षेत्रलाई ‘चराहरुको स्वर्ग, अर्नाको राजधानी’ भनिन्छ ।
नेपालकै सवभन्दा लामो नदी सप्तकोशी धरानवाट करिब २० किमी पश्चिमवाट वग्छ । विदेशी पर्यटकका लागि यो र्याफ्टीङको गन्तव्य हो । सप्तकोशी अन्तर्गत त्रिवेणी हुँदै दोलालघाटसम्म जलयात्रा गर्न सकिन्छ । यसका लागि निजी क्षेत्रले समेत व्यवसायिक र्याफ्टीङको शुरुवात गरेको छ । धरानवाट करिब २५ किमी पश्चिममा नेपालकै प्रमुख धार्मिकस्थलमध्ये एक बराहक्षेत्र अवस्थित छ । हिन्दुधर्मशास्त्र अनुसारका प्रमुख चारधाम मध्ये नेपालमा पर्ने दुई तीर्थस्थल मुक्तिनाथ र बराहक्षेत्र हुन् । यहाँ २ देखि ३ हजार वर्ष पुराना प्रस्तर र ढुंगाका मूर्तिहरु रहेको पुरातत्व विभागको तथ्य छ । धरानवाट ४ किमी पश्चिमोत्तरतर्फ विष्णुपादुकाधाम छ । धाममा भगवान विष्णुले लक्ष्मीसहित पहिलोपटक दिव्यपितृहरुको श्राद्ध गरेको ब्रम्हपुराणमा उल्लेख छ । मन्दिरमा ढुंगामाथि मानव पाइला(पादुका)को छाप छ, जसलाई भगवान विष्णुको पादछाप मानिन्छ ।
धामदेखि ५ किमी उत्तरतर्फ माछामारामा व्रिटिस गोर्खास्मृति पार्क निर्मित छ । पार्कमा भिसी पदक विजेता १३ जना बहादुर गोर्खालीहरुको नाममा होलिडे हट निर्माण गरिएको छ । १२ विघामा फैलिएको पार्कवाट प्राकृतिक दृश्यावलोकन गर्दा स्वर्गीय अनुभूति हुन्छ । निर्माणकै क्रममा रहेको पार्कमा गोर्खा पल्टनहरुको इतिहास सहितको शिलास्तम्भ र सेमिनारहल सहितको गोर्खा संग्रहालय निर्माणाधिन छ । धरानवाट ३२ किमी पश्चिमदक्षिणतर्फ रामधुनी मन्दिर अवस्थित छ । भगवान राम शिकार खेल्दै यहाँ आइपुग्दा रात परेपछि धुनी बालेर बसेकाले यस जंगलक्षेत्रलाई रामधुनी भनिएको भनाई छ । यहाँ सिंगो रुखको अखण्ड रामधुनी वर्षौँदेखि बालिँदै आइएको छ । धरानवाट करिब १६ किमी पश्चिम चतरामा निर्मित कुम्भ स्तम्भको ०६७ मा राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको हो । ५९ फिट अग्लो यो स्तम्भ नेपालमा पहिलोपटक ०५९ मा सम्पन्न कुम्भमेलाको स्मृतिमा निर्माण गरिएको हो ।

पूर्वी शहर धरानबाट अलिकति मात्रै उकालो लाग्ने हो भने त्यहाँको मौसमले चैत–बैशाखकै प्रचण्ड गर्मीलाई पनि बिर्साइदिन्छ । त्यसैले, कुनै वहाना चाहिदैन, फुर्सद हुनासाथ धरानेहरुको पहिलो गन्तव्य हो ‘भेडेटार’ । धनकुटा जिल्ला र सुनसरीको सिमानामा अवस्थित भेडेटार बजार धरानबाट मात्रै १६ किलोमिटर उत्तरमा छ । चर्को घामले शिर फुट्ला झै गरी धरान तात्तिरहदा त्यहि मास्तिरको भेडेटार भने छिनछिनमा वादलको घुम्टो ओडेर लुकामारी खेलिरहेको हुन्छ ।
चिसो महसुस गर्न त्यहाँ विजुलीबाट चल्ने पंखा वा एसी चाहिन्न । यस्तो बेला कस्को मन अडिएला धरानमा ? फुर्सद भयो कि धराने युवा हेम लिम्बू साथीसँग मोटरसाइकलमा हुइकिएर भेडेटार पुगिहाल्छन् । ‘तल(धरान)तिर असाध्यै गर्मी छ, त्यसैले गर्मी छल्न भेडेटार आइरहन्छौं’–धरान १५ का उनले भने–‘कतैबाट पाहुना, साथीभाई आउदा पनि भेडेटारको चिसो हावा नखुवाई फर्काउदैनौं ।’
उनले भनेझैं धरानेहरुको मात्रै होइन, इटहरी, विराटनगर, इनरुवातिरबाट पनि आफ्नो पाहुना एवं साथीभाईलाई घुमाउन होस् वा प्रेम जोडी, सबैको पहिलो गन्तव्य हो भेडेटार । अचेल पूर्वको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको लागि पनि छुटाउनै नमिल्ने गन्तव्य पनि बन्दैछ । सडक एवं यातायातको सहज पहुँचले पनि सबैलाई भेडेटारले लोभ्याएको छ । आखिर किन मानिसहरु भेडेटारबाट यतिधेरै मोहित छन् त ? ‘त्यहि तल धरान हपहपी गर्मी हुन्छ, तर यहाँ बाह्रैमास चिसो हुन्छ, यहाँको मौसमलाई प्रकृतिक ए.सि.नै भनिन्छ’–होटल एशोसिएशन अफ भेडेटारका सचिव एवं होटल भेडेटार भ्युका सञ्चालक जितेन्द्र रुम्दाली भन्छन्–‘खाने बस्ने राम्रो सुविधा भएको होटलहरु र आसपासमा २,४ वटा घुम्ने स्पट पनि थपियो । यहाँ मनोरम प्राकृतिक दृष्य, हिमाल पडाड र तराईलाई यहाँबाट नियाल्न सकिन्छ ।’

समुन्द्री सतहबाट १४२० मिटर उचाईमा अवस्थित भेडेटार बजार धनकुटा जिल्लाको भेडेटार गाविसमा पर्छ । यो धनकुटा जिल्लाको प्रवेशद्धार पनि हो । धरानबाट नागवेली सडक हुदै उकालो चढ्दादेखि नै प्राकृतिक सौन्दर्यले सितलता प्रदान गर्छ, चिसो महसस हुन थाल्छ । भेडटार बजार छेउ पुगेपछि उभिएर यसो तलतिर नियाल्दा हरियाली डाँडाबीचबाट छिचोलेको नागवेली कोशी राजमार्गको सुन्दर दृष्यले मन त्यसै पुलकित हुन्छ । भेडेटार पुगिसकेपछि त्यहाँको मौसममा कफीमात्रै पिएर समय कटाउन मनले मान्दैन । त्यतिबेला तोम्बा, जाँडको निगार वा कोदोबाट बनेको लोकल रक्सीको स्वादले मन बुझाउन सकिन्छ । आफुलाई मन पर्ने खानेकुरा अर्डर बमोजिम पनि उपलब्ध हुन्छ । भेडेटार आसपासमा उत्पादन भएको ताजा फलफुल एवं तरकारी फर्कनेहरुको साथमा हुन्छ भने धनकुटा जिल्लामा मात्रै उत्पादन हुने नरिवाल बिस्कुट भेडेटारको कोसेली हुन्छ ।

भेडेटार बजारमा मात्रै मन अडिन नमाने नजिकैको शैलुङ्ग डाँडा(चाल्र्स प्वान्ट)मा बनेको भ्यु टावरमा चढेर तराई, पहाड र आकाश खुलेको बेला हिमश्रृंखलाको दृष्यवलोकन गर्दा हुन्छ । अझ फुर्सद छ भने ९ किलोमिटर तलतिर सिम्सुवा(नमस्ने) झरना पुगेर रम्न पाउदाको खुशी वयान गरी साध्यै हुन्न । भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर(स्प्रिट अफ प्लेस) नपुगि फर्कदा मन चुकचुकाइरहनेछ । अमेरिकी समाचार संस्था सिएनएनले विश्वको उत्कृष्ट १२ आंै गन्तव्यमध्ये ८ औंमा राखेपछि शुरु भएको यो गाउँको चर्चा अझै सेलाएको छैन । यसबाहेक, भेडेटार नजिकैको ऐतिहासिक साँगुरी गढी, पाथीभारा मन्दिर पनि भेडेटारको पुग्नै पर्ने गन्तव्य हो । अहिले स्थानीयको पहलमा भेडेटारमा पार्क बनेको छ भने त्यहाँ बिशेष खालको शंखेश्वर मन्दिर पनि निर्माण भइसकेपछि यहाँको आर्कषण थपिइनेछ ।

भेडेटार आउने पर्यटकहरुमा सबैभन्दा बढी आन्तरिक पर्यटकहरु नै हुन् । पूर्वका विभिन्न ठाउँबाट घुम्न आउनेहरु धेरै हुन्छन् भने पोखरा, चितवनतिरबाट पूर्व घुम्न आएकाहरुले पनि अचेल भेडेटार नपुगी फर्कदैनन् । विगतमा धरानसम्म मात्रै शैक्षिक भ्रमणमा आउनेहरु अचेल भेडेटार पनि पुग्न थालेका छन् । आन्तरिकबाहेक ४० प्रतिशतजति भारतीय पर्यटकहरु आउछन् । होटल व्यावसायीरुका अनुसार विहार र पश्चिम वंगालबाट भारतीय पर्यटकहरु चिसो मौसममा रमाउन आउने गरेका छन् । पुष र माघ महिनामा मात्रै यहाँ पर्यटकहरुको चहलपहल केही कम हुन्छ । अरु बेला घुइचो लागिनै रहन्छ । पूर्वका ट्राभल एजेन्सी एवं टुर अपरेटरहरुले प्याकेजमा पर्यटकलाई घुमाउन सक्रिय नहुदा तेस्रो मुलुकका पर्यटकहरुको आगमन आशा गरेअनुरुप छैन ।


तीन बर्षको दौरानमा भेडेटारमा होटल व्यावसायमा ठुलो लगानी भएको छ । पर्यटन प्रचुर सम्भावना भएर नै यहाँका होटलहरु तीन बर्षमै दोब्बार भए । स्तरीय होटल तथा लजहरु खुल्यो । तीन बर्षअघिसम्म दर्जनको हाराहारीमा होटल थियो । अहिले ३५ वटा राम्रो खान, बस्न सुविधा भएको होटल खुलिसकेको छ । यसले पर्यटकहरुलाई स्तर एवं सुविधा अनुसारका होटल उपलब्ध हुन थालेछ । यसबाहेक ५० भन्दा बढी साना होटलहरुमा खाना तथा खाजाको व्यवस्था छ । यी सबै होटल, लज तथा रेष्टुरेष्टहरुका आम्दानीको स्रोत भनेकै घुम्न आउने पर्यटकहरु हुन् । खानेपानी अभाव यहाँको पनि प्रमुख समस्या बनेको छ ।
होटलसँगै सुविधाहरु थपिएपछि अचेल एनजिओ तथा आइएनजिओका सेमिनार, गोष्ठीहरु पनि भेडेटार केन्द्रीत हुन थालेको छ । हरदम चिसो मौसम हुनु, तराई र पहाड दुवै क्षेत्रको लागि केन्द्र पनि भएकोले धरान, इटहरी, विराटनगर, इनरुवातिर केन्द्रीत सेमिनार, गोष्ठी यता सरेको हो । तराईतिर सहभागीलाई ए.सि.भएको कोठा महंगो शुल्क तिर्नुपर्छ तर भेडेटारमा प्राकृतिक ए.सि.नै पाइने हुँदा खर्चिलो पनि हुदैन । यहाँ ५ सय देखि ३ हजारसम्मका कोठा पाइन्छ । सादा खान सरदर सय रुपैया र मासुसहितको ३ सय ५० रुपैया पर्छ ।
होटलहरु थपिदा पर्यटकहरुलाई सुविधा त थपियो, तर यसले प्राकृतिक सुन्दरतालाई असर पुग्ने हो कि भन्नेमा स्थानीय एवं स्वयम होटल व्यावसायीहरु चिन्तित छन् । पहिला भेडेटार बजारमा मात्रै घर एवं होटलहरु थिए । त्यसैले भेडेटारको खाली डाँडातिर पिकनिक खान आउनेहरुको घुइचो लाग्थ्यो । अहिले ती डाँडामा निजी घर तथा ठुला होटलहरु ठडिएकोले ‘पिकनिक स्पट’ मासियो । घुम्न आउनेहरुको संख्या बढेपनि पिकनिक खान आउने समुह देखिन छोडेको छ । त्यसैले होटल एशोसिएशन अफ भेडेटारले वरीपरीका सामुदायिक वन क्षेत्रमा पिकनिक स्पट बनाउन पहल थालिसकेको छ । ‘पिकनिक स्पट बन्यो भने अन्यत्र पिकनिक खान जानेहरु यता आउछन्, वन समुहलाई आम्दानी पनि हुन्छ’–एशोसिएशनका सचिव रुम्दाली भन्छन् ।
पर्यटकहरुको बसाई लम्ब्याउन व्यावसायीहरुले हर्स राइडिङ्ग(घोडा चढ्ने) व्यवस्था गर्ने, भेडेटारबाटै साइक्लिङ्ग, प्याराग्लाइडिङ र नमस्ते झरनामा क्यानोनिङ गराउनको लागि सम्बन्धित व्यावसायीहरुसँग सहकार्य थालेका छन् । निजी क्षेत्र र स्थानीयस्तरबाट प्रशस्तै प्रयास भइरहे पनि राज्यबाट भेडेटार र आसपासको पर्यटन विकास एवं प्रर्वद्धनमा ध्यान नदिदा उपलब्धी हासिल हुन नसकेको भेडेटार गाविसका पूर्वउपाध्यक्ष एवं नाम्जे पर्यटन पूर्वाधार विकास समितिका उपाध्यक्ष जगत राई बताउछन् । ‘हामीले सकेसम्म पूर्वाधार निर्माण र पर्यटन प्रर्वद्धनको प्रयास गरिरहेकै छौ, तर राज्यले पनि साथ दिनुपर्छ’–उनी भन्छन् । भेडेटार नजिकको कोलडाँडाबाट प्याराग्लाइडिङ्गको उडान परीक्षण भइरहेपनि व्यावसायिक उडानको स्वीकृति मिलेको छैन । धरानका युवाहरु बेला बेला भेडेटार, नाम्जे हुदै डाँडाबजारतिर साइक्लिङ्गमा जान्छन् भने नमस्ते झरनामा कोर एडभेन्चर नेपालले क्यानोनिङ्गको प्याकेज शुरु गरिसकेको छ ।
भेडेटार र आसपासका आर्कषणहरु:
शैलुङ डाँडा:

भेडेटार बजारदेखि केही पश्चिम पटिको थुम्का नै शैलुङ्ग डाँडा हो । यो डाँडा चाल्र्स प्वाइन्टको नाममले पनि परिचित छ । ०३८ सालमा बेलायतका युवराज चाल्र्स यो डाँडामा चढेपछि यो डाँडालाई चाल्र्स प्वाइन्ट भनिन थालिएको हो । यहाँ ०५५ सालमा सरकार, जिविस धनकुटा र गाविसको लगानीमा ४ तला अग्लो भ्यु टावर निर्माण गरिएपछि भने भेडेटार आउने पर्यटकहरु यहाँ नचढी फर्कदैनन् । यहाँबाट दक्षिणतिरको धरान, इटहरी, विराटनगरलगायत तराईको समथर भुभाग र कोशी ब्यारेजको सुन्दर दृष्य हेर्न सकिन्छ भने आकाश खुलेको बेला सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत हिमश्रृंखलाको दृष्यवलोकन गर्न सकिनछ ।
सिम्सुवा(नमस्ते) झरना:

भेडेटारबाट करिब ९ किलोमिटर तल गएपछि यो झरनामा पुगिन्छ । करिब ५० मिटर माथिबाट यो झरना खस्छ । कोशी राजमार्गको सिम्सुवा मोडसम्म गाडी एवं मोटरसाइकलमा पुगिन्छ, र त्यहाँबाट डेढ किलोमिटर हिडेर जानुपर्छ । झरना नपुगेसम्म खोलाको बाटो भएर उकालो हिड्नुपर्छ । झरनासम्म पुग्न २ ठाउँमा अफ्ठयारो गरी भर्याङ्गबाट पार हुनुपर्छ । त्यसले थोरै समय भएपनि यात्रा कठिन तर रोमाञ्चक हुन्छ । झरनामा पुगेपछिको हावामा उडेर आउने पानीको कणले शरीर स्पर्श गर्दाको आनन्दले सारा दुःख भुलाईदिन्छ । यो झरनाको प्रचार भएपछि अचेल भेडेटार आउने पर्यटकहरु यहाँ नपुगि फर्कदैनन् ।
 नाम्जे गाउँ र आत्मा बस्ने घर:

भेडेटार बजारबाट अढाई किलोमिर पूर्वमा छ नाम्जे गाउँ । सन् २०१२ मा सिएनएनले पुग्नै पर्ने विश्वका उत्कृष्ट १२ गाउँमध्ये नाम्जेलाई ८ औंमा छनौट गरेपछि यो गाउँको चर्चा चुलियो । त्यसपछि यहाँ घुम्न आउने पर्यटकहरुको संख्या पनि ह्वात्तै बढ्यो । त्यसअघि भने यो गाउँ भेडेटारको छाँयामा परेर गुमनाम थियो । गाउँ हेर्न आउनेहरु बढेपछि गाउँले मिलेर होम स्टे शुरु गरेका छन् भने होटल, लज पनि थपिएको छ । यहाँको हावापानी र मगर सँस्कृतिले पर्यटकलाई लोभ्याउछ । भेडेटार ६, ७ र ८ यो गाउँमा ९७ प्रतिशत मगर जातिको बसोबास छ । पूर्वका मगर जातिले मात्रै नाच्ने हुर्रा नाच यही हेर्न पाइन्छ । नाम्जेको डाँडामा अमेरिकन आर्किटेक्टरको टिमले मगर जातिको पूर्खाहरुको लाश गाडिएको २१३ वटा चिहानबाट संकलन गरेको ढुंगाले सामुहिक चिहान आत्मा बस्ने घर बनाइदिएको छ । यसलाई विश्वको १७ औं अचम्मको घर मानिएको छ । यो नाम्जेको अर्को आर्कषण हो । नाम्जे बजारदेखि आत्मा बस्ने घरसम्म पुग्न ढुंगाकै बाटो र स्वागतद्धार पनि ढुंगाकै बनाइएको छ ।
पाथीभारा मन्दिर:

भेडेटार बजारदेखि पश्चिमतर्फ आधा घण्टा पैदल हिडेर यहाँ पुगिन्छ । यो मन्दिर ताप्लेजुङ्गको प्रसिद्ध पाथीभारा देवीको शाखा मन्दिर हो । भाकल गरेर पनि ताप्लेजुङ्ग पुग्न नसक्नेहरु यहाँ आएर पूजाआजा गर्छन् । यहाँ मंगलबार र शनिबार श्रद्धालु भक्तजनहरुको बिशेष भिड हुन्छ । यहाँबाट आकाश खुलेको बेला कुम्भकर्णको काखमा रहेको ताप्लेजुङ्गको मुख्य पाथीभारा मन्दिर देख्न सकिने स्थानीयबासी बताउछन् ।
ऐतिहासिक साँगुरी गढी:
Sanguri
यो गढी भेडेटार बजारबाट ३ किलोमिटर पश्चिमतर्फको दुरीमा छ । त्यहाँसम्म पुग्न सहायक बाटो(ट्रयाक) खुलेकोले सजिलै पुग्न सकिन्छ । यो लिम्बूवानी राजाको सामरिम महत्वको गढी थियो । यहाँ १० वटा ढुंगाको कोठा भएको किल्लाको अवशेष अझै पनि देख्न सकिन्छ । ती सबै ढुंगाहरु धरान फुस्रे नजिकैको तामाखाम खोलाबाट ल्याइएको अनुमान गरिन्छ । किनभने गढी क्षेत्रमा त्यसखालको ढुंगा नै छैन । तत्कालीन समयमा सिपाहीहरु लहरै धरानसम्म उभिएर हात हातमा ती ढुंगाहरु बोकेर ल्याएको बुढापाकाहरुको भनाई छ । यो गढीबाट धरानको सुन्दर दृष्य हेन सकिन्छ ।
मनशान्त ग्यालरी रिसोर्ट:

गएको बैशाखदेखि भेडेटार बजारमा नै सञ्चालनमा आएको मनशान्त ग्यालरी रिसोर्ट खानेकुराको परिकारले भन्दा पनि त्यहाँको कलाकृतिले चर्चा र आर्कषणको केन्द्रमा छ । रिसोर्ट प्रवेश गरेदेखि नै देखिने मुर्ति एवं कलाकृतिले मोहित बनाउछ । त्यहाँ खेर गएको बाँस र त्यसका जराबाट बनेका विभिन्न आकृतिहरु छन् । बासकै टेवल, बाँसकै कुर्सी र खाट मात्रै होइन, बाँसबाटै बनेको कफी गिलास, प्लेट, वाइन गिलासले पनि आकर्षित गर्छ । यो होटल विगत दुई दशकदेखि कला क्षेत्रमा रहेका कलाकार रोजन राईले सञ्चालनमा ल्याएका हुन् । पर्यटकहरुले कलालाई बुझ्ने भएकोले पर्यटकीयस्थल भेडेटारमा होटलमा लगानी गरेको उनको भनाई छ । चालिस लाख बढी लगानी भइसकेको रिसोर्टमा उनले डेकोरेशनमा नै बढी खर्च गरेका छन् । त्यहाँ आउनेहरुले बाँस, नरिवलबाट बनेको वाइन ग्लास, कफी ग्लासहरु उपहार पनि किनेर लैजाने गरेका छन् ।

दमक । झापाको दमक–१९ मा रहेको इन्द्रेणीताल सिमसार क्षेत्रको संरक्षण तथा पुनःनिर्माणको काम पुनः थालिएको छ । केही समयअगाडिसम्म पनि पूर्वमा नै निकै चर्चा पाएको यस इन्द्रेणीताल सिमसार क्षेत्रको उचित संरक्षण तथा प्रवद्र्धन गर्न स्थानीयवासीले चासो देखाएका हुन् ।
यस वर्ष सिमसारको दिगो विकासका लागि पहिलो चरणमा पूर्वाधार विकासको काम सुरु गरिएको इन्द्रेणीताल सिमसार संरक्षण समितिका अध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिनुभयो ।
Indreni talसमितिले पहिलो चरणमा दमक नगरपालिकाको रु पाँच लाख रुपैयाँको बजेटबाट ताल तथा सिमसार क्षेत्रको पूर्वाधार विकासका लागि ताल परिसरमा बाटो निर्माणको काम सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पूर्वको पर्यटन, प्रवद्र्धनका लागि यस सिमसारको विकासमा लागेका छौँ ।” समितिको सक्रियतामा सिमसारको क्षेत्र निर्धारण तथा ताल वरिपरिको करिब तीन किलोमिटर बाटो निर्माणको काम सुरु गरिसकेको जनाइएको छ ।
करिब दुई बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको सो ताललाई दमक नगरकै गहनाका रुपमा विकास गर्ने उद्देश्यका साथ काम थालिएको समितिका सदस्य डिल्लीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले दोस्रो चरणमा विषयगत विशेषज्ञबाट गुरुयोजना बनाएर थप काम अघि बढाइने समेत बताउनुभयो । तालमा नौका विहार तथा माछापालन हँुदै आएको भएपनि पछिल्ला दिनमा यसको उचित संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा पुगेको थियो ।

मोरङ / नेपालमा त्यस्ता सुन्दर ठाँउहरु धेरै छन ,जहाँ प्राकृतिक मनोरम सुन्दरता सँगै मानिसहरु आफनो बह पोख्ने उपयुत्त ठाँउका रुपमा समेत प्रयोग गर्ने गर्छन । प्राकृतिक सुन्दरता सँग लुकामारी खेल्न,मनाङ,मुस्ताङ,पोखरा वा अन्य धेरै त्यस्ता ठाँउहरु नै पुग्नुपर्दैन । बत्ति मुनि सधै अध्याँरो भनेझै हाम्रा सामुन्नेमा पनि त्यस्ता प्राकृतिक सुन्दरताले सजिएका मनमोहक ठाँऊहरु धेरै छन,जसलाई हामी अबलोकन गर्न,प्राकृतिक सुन्दरता सँग लुकामारी खेल्न र बनभोजका लागी प्रयोग गर्न सक्छौँ ।
समग्र पुर्वाञ्चलको कुरा गर्ने हो भने पछिल्लो पुस्ताले पिकनिक खानकै लागि पनि झापाको दोमुखा, जामुनखाडी, सतासीधाम, ईलामको फिक्कल, कन्याम ,सुनसरीको ताल तलैया , धनकुटाको मुलघाट, भेडेटार लगायतका ठाँउलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन । मोरङको बेलबारीमा रहेको बेतना सिमसार लगायत दर्जन बढी ठाऊँहरु प्नि पछिल्लो समय मानिसहरुका लागी आकर्षक गनतब्यका रुपमा बिकास भएका छन । यी हुन मोरङका आकर्षक पर्यटकीय गनतब्य स्थलहरु ।

१.बेतना सिमसार

मोरंग जिल्लाको बेलबारी नगरपालिका वार्ड नम्बर ९ मा महेन्द्र राजमार्ग सँगै जोडिएर रहेको सो सिमसार क्षेत्र यतिखेर पुर्बाञ्चलमै एउटा नमुना गन्तब्यका रुपमा बिकास भईरहेको छ । दुई प्रजातिको बेत बनस्पतिको जंगल नै रहेकोले यस क्षेत्रलाई बेतना सिमसार क्षेत्र भनिएको जानकारहरु बताँउछन । त्यही पलाएको पानिले बर्ष भरिनै भरिरहने ठुला ठुला पोखरीले गर्दा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रुपमा राखिएको छ ।

सिमसार क्षेत्रले करिब ६५ बिगाहा क्षेत्रफल ओगटन सफल भएको छ । साईबेरिया देखी आउने चराहरुका साथै पच्चिस प्रजातिका दुर्लभ चराहरु ,बिश्वमै दुर्लभ प्रजातिका कछुवा,बिभिन्न जातका माछा,जीबजन्तु,बनस्पति यस क्षेत्रमा पाईन्छन । संरक्षण समितिका संस्थापक अध्यक्ष स्वर्गीय बिष्णु बस्नेतले केही बर्ष अघि यस सिमसार क्षेत्रभित्र १० मन सम्मको कछुवा समेत रहेको जानकारी दिनुभएको थियो ।
सिमसारमा रहेको पानीले आसपासका क्षेत्रमा रहेको करिब एक हजार बिगाहा जमिन समेत सिचाँइ भईरहेको छ । बि.स २०५७ सालमा बेतौना जलउपभोत्ता समुह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरु सम्मिलित समुहले समेत सो सिमसार क्षेत्रको संरक्षण गर्दै आएको छ ।यसका अलावा देबीथान,र अमना सिसौली सामुदायिक बन उपभोत्ता समुह र अन्य स्थानीय संघसंस्थाहरु लगायत यस सिमसारको संरक्षणमा निरन्तर जुटिरहेका छन ।

सिमसार क्षेत्रको संरक्षणको लागि चौकिदारको ब्यबस्था गरिएको छ भने आसपासको क्षेत्रमा तार घेराबारा समेत गरिएको छ । बिगत बर्ष भएको बेतना महोत्सबका अबसरमा बेतना पोखरीमा डुँगा समेत राखिएको र हालपनि सञ्चालन भईरहेको छ । यो पनि यहाँको आम्दानीको गतिलो श्रोत बनेको छ यतिखेर । खेतियोग्य जमिन सिँचाईका लागी सिँचाई बिभागको सहयोगमा पक्की बाँध समेत निर्माण गरिएको छ ।

२.राजारानी धिमाल पोखरी

उत्तरी मोरङको पर्यटकिय स्थल राजारानीमा वनभोज खाने र घुम्ने आन्तरिक पर्यटकको चहलपहल वढन थालेको छ। पर्यटकिय स्थल राजारानीमा वनभोज खान आउने को सख्या वढन थालेको हो । मोरङको भोगटेनी मा रहेको राजारानी श्रेत्र मा रहेका पोखरी तथा जंगलमा  फुलेका सुनाखरी अवलोकन गर्न पुर्बी मोरङ तथा झापा र सुनसरीका आन्तरिक पर्यटक आउने गरेका छन ।
Raja-Rani-Pokhari-615x300
मोरङको पुरानो वजार लेटाङ वाट ३ किलोे मिटर उत्तर पुर्वमा रहेको राजारानी मा राजा रानि र राजकुमारी पोखरी रहेका छन भने राजारानी मन्दीर समेत रहेको छ । सो श्रेत्रमा ४२ जातका सुृनाखरी रहेका मा ३ जातका सुनाखरी विश्व वाटै लोपउन्मुख रहेका छन । पहाडि श्रेत्रमा रहेको राजारानी बाट झापाको दमक मोरङको उर्लावारी पथरी र लेटाङ बाजार प्रस्ट देखिन्छ।

३.हसिना सिमसार

मोरङको सुन्दरदुलारी नगरपालिका ६ मा अबस्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा बिकास भईरहेको छ । मोरङको सुन्दरपुरस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चौकबाट करिब ६ किलोमिटर उत्तरको यात्रापछी सो स्थानमा पुग्न सकिन्छ । बाह्रैमास बगिरहने जरुवा पानीको मुल समेत रहेको सो सिमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । बिभिन्न देबीदेबताका मनिदर,बिभिन्न प्रकारका बनस्पति,जिबजन्तु, र पंशुपक्षिहरुको बासस्थान समेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र हैन बनभोज,अध्यायन,अनुसन्धान र अबलोकन लागी समेत उत्तिकै उपयोगी रहेको छ ।

बनजंगलको शित्तल छहारी,अनि शान्त र मनोरम ठाँऊ प्राकृतिक छटामा बिचरण गर्न चहानेहरुका लागी यो भन्दा उत्तम अर्को कुनै ठाँऊ नै छैन झै आभास हुन्छ सो ठाँऊमा पुग्ने जो कोहीका लागी । केही बर्षदेखी नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागी बजेट बिनियोजन गरेर सो ठाँउलाई आर्कषक गन्तब्यका रुपमा बिकास गरिरहेको छ ।
अग्लो होचो भाग डाँडाकाँडा अनि बाह्ैमास बगिरहने पानीले तराईका सम्म भुभागमा रहेपनि पहाडी क्षेत्रको आभाष गराउँछ सो ठाँउले । सो ठाँउमा पुग्नका लागी कच्ची बाटो भएपनि जिबिसको सहयोगमा हसिना सिमसार संरक्षण समिति र स्थानीयको पहलमा सो बाटो पक्की बनाउने तयारी भईरहेको संरक्षण समितिका अध्यक्ष घनश्याम न्यौपानले जानकारी दिनुभयो ।
hasina1
सो क्षेत्रमा हाल नेपाल पर्यटन बोर्डले १५ लाख रुपैया,जिल्ला बिकास समितिले १६ लाख रकम बिनियोजन गरेपछि एउटा कलात्मक पानी टयाङकी,शान्तिका अग्रदुत बुद्धको जन्मेदेखी मृत्युसम्मका बिभिन्न अबस्था समेटिएको पुर्बाञ्चलकै ठुलो बुद्धको प्रतिमा,र सो क्षेत्रको पोखरीमा डुंगा सञ्चालन गर्ने तयारी समेत भईरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
आकर्षक प्रबेशद्धार,बिभिन्न कलात्मक शान्तिको प्रतिक परेवाको प्रतिमा,बिश्व मानचित्रको प्रतिमा ,बुद्धको प्रतिमा,नागपोखरीमा नागको प्रतिमा लगायत निर्माण भईसकेका बिभिन्न प्रतिमाले त्याँहा पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ ।पछिल्लो समय सो क्षेत्रमा करिब ३ लाख खर्च गरेर निर्माण सम्पन्न गरिएको डाईनोसरको प्रतिमाले सो क्षेत्रमा सुनमाथि सुगन्ध थपेको छ ।

४.बेतेनी ताल

यतिखेर मोरंङको उर्लाबारी नगरपालिका स्थित मंगलबारेमा रहेको बेतेनी ताल पोखरी समेत पर्यटकहरुका लागी आकर्षक गन्तब्यका रुपमा बिकास भईरहेको छ । पुर्बपश्चिम राजमार्गको उर्लाबारी ६ किसानचौक बाट करिब ७ किलोमिटर उत्तर टाँडी जाने ग्राभेल बाटो हुँदै यस बेतेनी तालमा पुग्न सकिन्छ । किसानचौकबाट पाँच किलोमिटर उत्तर तर्फ लागेपछि टाँडी गाबिस जाने बाटो छोडेर पुर्बतर्फ मिक्लुखोला किनार हुँदै बेतेनीको यात्रा गर्न सकिन्छ । मिक्लुखोला किनारदेखी करिब एक किलोमिटर अप्ठयारो बाटो पछि भटेनी गाँउ आँउछ त्यसपछि बेतेनी सम्मको बाटो भने राम्रो रहेको छ ।
betene tal
जंगलसँगै जोडिएको बेतेनी पोखरी स्थानीय मुलहरुबाट आएको पानीबाट बनेको जलाशय हो । एक दशक अघि स्थानीय चन्द्र बहादुर गौतमले सफाई गरी बेतेनीको पानी आफनो खेतमा उपयोग गरेका थिए । पछि बेतेनी टोलमा बढेको घरधुरीहरुले उनीसँग मिलेर त्याँहाको पानी बाँडफाड गरी उपयोग गर्न थालेका छन । खासै ऐतियहासिक महत्व नभए पनि बेतेनी पोखरीको पानी बाह्ैमास रहने भएकोले यहाँका जीबजन्तु र पशुपक्षिका लागी मात्र नभएर स्थानीयबासीहरुका लागी समेत सिचाँइका लागी भरपर्दो श्रोतका रुपमा रहेको छ ।
यसको आसपासमा रमणीय जंगल क्षेत्र रहेको छ । पोखरीमै टापु जस्तो उठेको भुभागमा बिभिन्न प्रकारका बोटबिरुवाहरु रहेका छन । यहाँ स्थानीय बासीहरुले देबीथान बनाएर पुजा समेत गर्न थालेका छन । ठुलो भुभाग ओगटेको जलाशयको दृश्य मनमोहक समेत रहेको छ । पोखरीको पानी स्थानीयबासीहरुले पालो गरी उपयोग गर्ने गरेका छन । यस क्रममा उनीहरुले बाँध समेत बनाएका छन । मुलबाट जम्मा हुने पानी सिँचाईमा उपयोग हुनेभएपनि घटेको देखिदैन । स्थानीयबासीहरुले यस क्षेत्रको सरसफाईमा समेत बिषेश ध्यान दिएका छन । दुई बिगाह क्षेत्रफलमा फैलिएको बेतेनी ताल र आसपासको जंगल घुम्न आउनेका लागी यो एउटा रमणीय स्थल समेत हो । यसको वरपर बाँध र बोटबिरुवाहरुलाई ब्यबस्थि त गर्न सके अझै यस क्षेत्रको बिकास गर्न सकिन्छ ।

५. झोलुङगे पुल

उत्तरी मोरङको लामिटारमा रहेको झोलुङगे पुल पनि वनभोज खान आउनेको रामो्र गन्तव्य वन्दै आएको छ । लेटाङ बजार बाट २ कि. मि उतरमा रहेको झोलुङे पुलमा प्रत्येक वर्ष सयौको संख्यामा वनभोज खानेको लर्को लाग्ने गर्दछ । नयाँ वर्ष, भ्लेन्टाइन डे वा कुनै नयाँ पर्व र उत्सवमा वनभोज खाने र घुम्न यहा आउने गरेका छन ।लामिटार र लोखरा जोडने यो पुल बाट लेटाङ बजार ˚डानी र वारङीका पहाडी श्रेत्र र मधेसका दृस्य प्रस्ट देख्न सकीन्छ । पानी र दाउरा को प्रार्याप्त ताले पनि वनभोज खान आउने को सख्या वढदै गएको छ।
वारी पारी डाँडा बिचमा चिसाङ खोला को दृश्य अवलोकन गर्न पनि मोरङ विराटनगरका स्कुल बाट वनभोज खान आउने गरेका छन सो स्थानमा । अझ नया वर्षमा त झन आफना जोडी सँग  सेल्फी खिच्ने भीड भाड देखिन्छ।

६.रानी बन

उत्तरी मोरङको पर्यटकिय स्थल रानीवन मा वनभोज खाने र नयाँ वर्षमा घृम्न आउने आन्तरिक पर्यटक को चहलपहल बढदै गएको छ । मोरङ लेटाङ ८मा धोवी तुर्के मा रहेको रानीवन श्रेत्रमा वारी पारी पोखरी निमाँण तयार गरीएको पोखरी स्थल र विचमा डाडा छ। विच डाडामा भएको  फुलबारी  र साल को वोट विरुवा मा लगाएको रङले नै आकर्षण बढाएको छ ।
लेटाङ वाट ४ किलो मिटर पश्चिममा पर्ने सो श्रेत्र लाई नमुना युवा क्लवले संरक्षण र सम्बद्र्धन गदै आएको छ । सो श्रेत्रमा मोरङको भोगटेनी लेटाङ केरावारी लगाएत उत्तरी मोरङको सवै गा.वि.स को वनभोज स्थलको रुपमा विकास हृदै आएको छ। विभिन्न प्रजातिका फुलहरूको अवलोकन गर्न र पर्यटकिय स्थल सम्म मोटर वाटो पुगेको हुनाले पनि आन्तरिक पर्यटक तथा स्कुलका वालवालिका को शैक्षिक भ्रमण स्थल वन्दै गएको छ ।

७. बाघझोडा क्षेत्र

मोरंगको कोशी हरैचा नगरपालिकास्थित खोर्सानेमा रहेको बाघझोडा पोखरी यतिखेर थुप्रै प्राकृतिक सुन्दरता चहानेहरुका लागी गन्तब्य स्थलका रुपमा बिकास भईरहेको छ । महेन्द्र राजमार्गको खोर्साने केराबारी सडकखण्ड अन्र्तगत खोर्साने चौकदेखी ५०० मिटर दक्षिण चारकोशे झाडीको मुखबाट २ सय मिटर पुर्बमा रमणीय बाघझोडा पोखरी अबस्थित रहेको छ ।
baghjhoda-300x225
बि.स २०३६ साल अधिसम्म चारकोशे बन क्षेत्रमै जोडिएको यो क्षेत्रमा बाघ पाईने भएकोले यस क्षेत्रको नाम नै बाघझोडा रहेको जानकारहरु बताउँछन । त्यस बेला बाक्लो पाईने बाघ बढदो मानबबस्ति र बनबिनाश सँगै दुर्लभ भएको छ । यस ठाँउमा परापुर्बकालमा खेत खन्दा युद्धमा सिपाहीहरुले प्रयोग गर्ने कवज र तरबारहरु समेत फेला परेको इन्द्रपुर गाबिसका निर्बतमान अध्यक्ष तथा बर्तमान सो क्षेत्रका सभाषद चन्द्र बहादुर गुरुङले बताउनभयो । यसरी फेला परेका सामाग्रीहरु हालपनि धनकुटा संग्राहलयमा संरक्षित रुपमा रहेका छन ।
यस क्षेत्रमा प्रबेशका लागी किराँत साकेला थानको प्रबेशद्धार रहेको छ । यहाँ बिश्रामघर,फलैचा,मन्दिर समेत रहेका छन । बाटोमा तारघेरा गरिएपनि संरक्षण अभाबमा पोखरी पुरिएको अबस्थामा रहेको छ । हरेक बर्ष बैशाख १५ मा धिमालहरुको यहाँ मेला लाग्ने गरेको छ । सुकुना सामुदायिक बन र धार्मिक बन पनि पर्ने यो क्षेत्रमा बिगत पाँच बर्षदेखी बनभोजका लागी मानिसहरुले उपयुत्त स्थानका रुपमा रोजिरहेका छन । यति सुन्दर,मनमोहक र प्रशस्त पर्यटकीय सम्भाबना बोकेको मोरङको गुरुयोजना तयार गरी बिकास गर्न सके यो ठाँऊ देखेर सबैले भन्नेछन अहो मोरङका पर्यटकीय स्थल ।

सुनसरी / विश्व रामसार सुचिमा सुचिकृत सुनसरीको कोशी टप्पु बन्यजन्तु आरक्षणमा रहेको दुर्लभ अर्नाको संख्यामा बृद्धि भएको छ । आरक्षणले गरेको गणना शनिवार सार्वजनिक गर्दै राष्ट्रिय निकुञ्ज बन्य जन्तु संरक्षण विभागका महानिर्देशक फणिन्द्रराज खरेलले अन्य सालको तुलनामा यस पटक अर्नामा बृद्धि भएको बताएका छन् ।
आरक्षण स्थापनाका कालमा ६३ ओटा अर्ना रहेता पनि पछिल्लो गणनामा अर्नाको सँख्या ३ सय २७ पुगेको थियो । यस पटकको गणनामा अर्नाको सँख्या बढेर ४ सय ३२ पुगेको बताइको छ ।
विश्वमा दुर्लभ बन्य जन्तुमा पर्ने अर्ना नेपाल सहित सँसारका ५ ओटा देशमा मात्र पाइन्छ । भारतको काजिरंगामा विश्वको ठुलो सँख्यामा अर्ना पाइन्छन् भने नेपालको सुनसरी स्थित कोशी टप्पु बज्य जन्तु आरक्षणमा दोस्रो ठुलो सँख्यामा अर्ना पाइन्छन् । यो बाहेक भुटान, कम्बोडिया र थाइलाइण्डमा मात्र अर्ना पाइएको रेकर्डले देखाएको छ ।

अर्ना गणना सार्वजनिक कार्यक्रममा उपस्थित भएका राष्ट्रिय प्रकृती संरक्षण कोषका सदस्य सचिव गोविन्द्र गजुरेलले संसारमा रहेका २५ सय सिमसार क्षेत्र मध्ये नेपालको कोशी टप्पु बन्य जन्तु आरक्षणमा विविधता रहेको हुँदा यस क्षेत्रको संरक्षण तथा सँबद्र्धनका लागि राज्यले विशेष पहल गर्ने बताए । आरक्षणका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहाले कोशी टप्पु सिमसार क्षेत्रमा अर्नाका लागि उचित बातावरण रहेको र आरक्षणले अर्नाको हेरचाहका लागि उचित प्रबन्ध गरेको हुनाले अर्नाको सँख्यामा बृद्धि भएको बताए ।

खोटाङ  । च्यापिएर, ठेलमठेल गरेर भगवान् हलेसी महादेवको दर्शन गर्ने घुइँचो देखिन्छ अहिले । अहो ! श्वास फेर्न पनि गाह्रो होलाजस्तो तर सबैले एकै स्वरमा भनिरहेका छन्… जय शम्भु ! जय शम्भु ! । मन्दिर पूरै यस्तै आवाजले गुञ्जयमान छ । हलेसी महादेवको दर्शन गरेपछि सबैले आआफ्नै भावना व्यक्त गर्न उत्सुक हुन्छन् । कोही जन्मद्वार, केही धर्मद्वार, कोही पापद्वार अनि कोही गर्भद्वार र कर्मद्वारमा आउने र जाने क्रम जारी देखिन्छ ।
कोही गाईको थुनबाट दूध आउने प्रतिक्षामा छन् । कोही शङ्ख फुक्न त कोही ढाड दुःखेको ठीक गर्ने लाइनमा छन् अनि भन्दै छन् जय शम्भु…। खोटाङ जिल्लाको हलेसीस्थित माँझ किरात बस्तीमा रहेको सो मन्दिर झट्ट हेर्दा निकै अद्भूत लाग्छ । धार्मिक ग्रन्थमा उल्लेख भएजस्तै लाग्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वृकासुर नामक राक्षसले शिवजीलाई प्रशन्न पार्न धेरै तपस्या ग¥यो ।
महादेश प्रसन्न बनाएर वृकासुरले ‘मैले जस्को शिरमा हात राख्दछु त्यो व्यक्ति तत्कालै भष्म भइजावस्’ भन्ने बर माग्यो । वृकासुरको वरदान माग सुन्दा भगवान्लाई खिन्न लाग्यो । त्यतिबेला वृकासुरको मनमा पार्वतीको सम्झना आयो । अहिले तत्काल महादेवको शिरमा हात राखेर भष्म पार्न पाए आफूले पार्वतीसँग भोग गर्न पाउने सोच्यो । उसले हात उचाल्दै महादेवलाई लखेटन लाग्यो ।
halesiभाग्दैभाग्दै महादेव हलेसीको पहाडमा आएर लुकेर बस्नुभएको थियो । त्यही पार्वती, गणेशलगायतका देवीदेवता विराजमान भएको हलेसीधामलाई अहिले पनि पूर्वका पशुपतिनाथ भनेर चिनिन्छ । सो मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा विशेष पूजा हुने गर्दछ । सोमबार र शनिबार भक्तजनको अलि बढी भीड हुन्छ । सङ्कटबाट बच्नका लागि भगवान् शिव आएर लुकेको हुनाले सो मन्दिरमा गई दर्शन गर्नाले सारा दुःखबाट छुटकारा मिल्ने विश्वास गरिन्छ ।
“पुराणमा भारत वर्षको हिमखण्ड भनेर हलेसी महादेवको बारेमा वणन गरिएको छ, आदिमकालदेखि नै तपोभूमि तथा धार्मिक तीर्थस्थलको सङ्गम भनेर परिचित छ”– हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले भन्नुभयो । पहाडमा प्वाल परेर बनेको भगवान् शङ्करको यो मन्दिर कुनै व्यक्ति कालिगढ तथा सङ्घसंस्थाले निर्माण गरेको नभईकन भगवान् शङ्करको आफ्नो रचना भएको भन्ने विश्वास छ ।
अध्यक्ष राईका अनुसार यो मन्दिरको उत्पत्ति परापूर्व कालदेखि नै भएको हो । किराती भाषामा राजालाई हो भनिन्छ । ‘पारुहाङ हो’ अर्थात् राजाभन्दा पनि ठूलो भगवान् शङ्करको रुपमा लिइन्छ । त्यसैले यहाँ हिन्दूधर्म, वुद्ध धर्म, किरात धर्म मान्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
सो मन्दिरमा २०६२ साल मङ्सिर १ देखि सर्वपक्षीय समिति निर्माण गरेर मन्दिरको पूजा कर्म हुँदै आएको छ । गिरी पुजारी राख्ने चलन छ । मन्दिरको २६ रोपनी जग्गामा महादेव र पार्वतीको मन्दिरसहित बसाहा र भैरव गुफा छ ।
गत वर्ष सुनकोसी पुल बनेपछि भक्तजनको सङ्ख्या बढ्दै गएको छ । वार्षिक रु १७÷१८ लाख भेटी सङ्कलन हुने गर्दछ । मन्दिरको व्यवस्थापन, पुजारी गरी मासिक रु ४५ हजार खर्च लाग्छ । मन्दिरमा एक मूल पुजारी र दुई बाल पुजारी छन् ।
सुनकोसी पुल बनेपछि भक्तजनको घुइँचो
हलेसी महादेवको भक्तजनप्रति विश्वास बढ्दै गए पनि सुनकोसी पुल नबन्दा भाकल गरेकाले पनि दर्शन गर्नबाट वञ्चित हुनुप¥यो । गत वर्ष मात्र सो पुल बनेर अहिले दर्शन गर्न आउने भक्तजनलाई सहज बनेको छ ।
हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईले सुनकोसी पुल बन्न नसक्दा भक्तजन दर्शन पूजा गर्नबाट वञ्चित हुनुपरेको र गत वर्ष पुल बनेपछि भक्तजनको निकै घुइँचो लागेको सुनाउनुभयो ।
जल चढाउनै पाउँदैनन् भक्तजन
हलेसीमा पानीको निकै हाहाकार छ । दर्शन गर्न आउने भक्तजन आफैँले पानी बोकेर जानुपर्ने अवस्था छ । भक्तजनले महादेवलाई जल चढाउनसम्म पाउँदैनन् ।
जल चढाउने पानीसम्म नहुँदा सुनकोसीबाटै पानी ल्याएर जल चढाउनुपर्ने अवस्था छ ।
सुनकोसीमा पानी बगेर खेर गइरहेको छ । तर त्यहाँका जनप्रतिनिधिको ध्यान त्यहाँ पुग्न सकेको देखिँदैन । “खोलाबाट पानी ल्याउनुपर्ने हुन्छ, ४५ किमीबाट पानी ल्याउनुपर्छ, ट्याङ्करबाट दुई रुपैयाँ लिटर पानी ल्याउनुपर्छ ”– अध्यक्ष राईले भन्नुभयो । रासस

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित लसुने बजारबासीले पर्यटकहरुलाई आकर्षण गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण सँगै पार्यटकीय सुन्दता थपेको छ । लसुने बजारको ऐतिहासिक पहिचान समेत झल्काउने र पर्यटकहरुलाई आकर्षण गर्न भन्दै स्थानीयले ९ लाख रुपैयाँ बढीको लागतमा स्तम्भ निर्माण गरेका हुन् ।
पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, रातपोखरी, पात्लेपोखरी र आकर्षक चिया बगान लगायत क्षेत्रमा आउने पर्यटकहरुको आवत जावत भइरहेको लसुने बजारको मुख्य चौकमै स्थानीयबासीले लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेका हुन् ।
स्थानीयबासी, गाविस र अन्य दाताहरुको सहयोगबाट गरी कुल ९ लाख ७ हजार १ सय ५५ रुपैयाँ लगतमा स्तम्भ निर्माण गरिएको निर्माण समिति संयोजक धर्मराज खड्काले जानकारी दिए । बाउबाजेले खोरिया फाँडेर लसुन खेती गर्ने गरेको र लसुनकालागि ख्याति प्राप्त क्षेत्रमा बस्ती विकास भएपछि बजारको नामपनि लसुने बजार राखिएको थियो ।

धनकुटा / राजारानी बजारस्थित नागबेली पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ। पार्कभित्रको ढुंगामा करिब ३५ फिट लम्बाइका जोडी नाग कुँदिएको मूर्ति बनाइएको छ। मूर्ति हेर्न आन्तरिक पर्यटकको चहलपहल बढेको हो। मूर्तिकार श्याम गौतमले एक वर्ष लगाएर पार्कभित्रको ढुंगा खोपी जोडी नागको आकृति बनाएका हुन्। ढुंगामै जोडी नागको लोभलाग्दो आकृति बनेपछि सो क्षेत्रमा अहिले पर्यटकको भीड लाग्न थालेको नागबेली पर्यटन विकास समितिकी कोषाध्यक्ष भीमकुमारी चेम्जोङले बताइन्।

नागबेली पार्क करिब १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र सुन्दर बगैंचा पनि छ। त्यस्तै स्थानीय स्तरमा पाइन वन्यजन्तुलाई संरक्षण गरी राखिएको छ।  पार्कका कुनाकाप्चा तथा भिरालो ठाउँमा चर्चित व्यक्तित्व तथा देवीदेवताको मूर्ति बनाइएको छ। पार्कभित्रका झरना, गुप्तेश्वर गुफा, अजंगको काब्रोको रूख, ततिला झर्ना र घ्याम्पे दहले पनि पर्यटकलाई लोभ्याउने गरेका छन्।

पार्क निर्माणमा हालसम्म ३१ लाख ९० हजार रुपैयाँ खर्च भइसकेको कोषाध्यक्ष चेम्जोङले बताइन्।पार्कको परिकल्पनाकार मूर्तिकार गौतम हुन्। उनैको कलाबाट प्रभावित भएर स्थानीयको पहलमा २०७० सालमा बस्ती विकास केन्द्र काठमाडौंको १८ लाख सहयोगमा पार्क निर्माणको काम सुरु गरिएको थियो।

२०७१ सालदेखि खुला गरिएको यो पार्क थप सुधारका लागि चालू आर्थिक वर्षमा पर्यटन विकास बोर्डको १० लाख, जिल्ला विकास समिति धनकुटाको तीन लाख र राजारानी गाविसको ९० हजार रुपैयाँ सहयोग गरेका छन्।

घुम्न आउने पर्यटकलाई प्रवेश शुल्क प्रतिव्यक्ति २० रुपैयाँ तोकिएको छ। आन्तरिक पर्यटकको बढ्दो आगमनले पार्कबाट मासिक ३० हजार रुपैयाँ आम्दानी हुन थालेको चेम्जोङले बताइन् । पार्कको आम्दानीबाट हेरचाहका लागि एकजना कर्मचारी राखिएको छ। राजारानी बजारनजिकै करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको रानी ताल छ। यहाँ घुम्न आउने आन्तरिक पर्यटकलाई रानी तालसँगै नागबेली पार्क पनि घुम्नुपर्ने दोस्रो गन्तव्य बनेको छ।
राजारानीमा केही वर्षपहिलेसम्म मुस्किलले दैनिक तीनदर्जनको हाराहारीमा पर्यटन आउने गरेका थिए । तर, अहिले पार्क निर्माण भएसँगै घुम्न आउनेको संख्या दैनिक एक सयभन्दा बढी रहेका छन्। नागबेली पार्क क्षेत्रभित्रको अन्य ढुंगामा विशाल दरबार (रक प्यालेस) बनाउने योजना रहेको मूर्तिकार गौतमले बताए। पार्कभित्रका झरना, गुप्तेश्वर गुफा, अजंगको काब्रोको रूख, ततिला झर्ना र घ्याम्पे दहले पनि पर्यटकलाई लोभ्याउने गरेका छन्। अन्नपुर्ण पाेस्ट बाट ।

मोरङ /  मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।  राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताउनुभयो ।
बेतौनामा पोखरीको ढुङ्गामा सयर गर्दै रम्नुको आनन्दै बैग्लै भएको राईले बताउनुभयो । “सीमसार क्षेत्रमा पाइने मयुरपङ्खी जातको कछुवा, लोपोन्मुख पानीहाँस, जलकौवा, सरस, चिललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको छ ।” उहाँले भन्नु भयो । बेतनामा विभिन्न छ प्रजातिको कछुवा बसोबास छ । विशेष चाडपर्व, नयाँ वर्ष र पिकनिकको समयमा बेतनामा दैनिक एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको समितिले जनाएको छ ।
बेतौना सिमसारमा ध्वाँसे चितुवा
मोरङको बेलबारीमा रहेको बेतौना सिमसार क्षेत्रमा पर्यटकले लोपोन्मुख ध्वाँसे चितुवा पनि हेर्न पाउने भएका छन् ।  बेतौना सिमसार संरक्षण समितिका अध्यक्ष राईका अनुसार जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतौना सिमसार क्षेत्रमा ल्याइएपछि बेतना सिमसार क्षेत्रमा पर्यटकले हेर्न पाउने भएका हुन् । तेह्रथुमको म्याग्लुङ नगरपालिकामा जङ्गलबाट सहर पसेको चितुवालाई जिल्ला वन कार्यालय तेह्रथुमले जङ्गलमा छोड्ने तयारी गरिएको सो चितुवालाई जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतना सामुदायिक वन उपभोक्ता समूहमा ल्याइएको हो ।
सो क्षेत्रमा अजिङ्गर, कछुवा, विभिन्न जातका माछा, चरा, जङ्गली जनावर, संरक्षण गर्न राखिएको छ । रासस

ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै बिस लाख १४  हजार ७ सय रुपैँया भेटी रकम संकलन भएको छ । यहि जेठ ५ गते देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीहरुबाट यतिका रकम जम्मा भएको  पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ ।
विशेष गरि बैशाख पछि वर्षा लगायतका कारण कमै मात्र तिर्थालु आउने गरे  पनि गत वर्षहरुको तुलनामा यस वर्षको जेठ महिनामा धेरै तिर्थयात्री भित्रिएको  समेत सो समितिले जनाएको छ ।  यस अघि २०७२ साल चैत्र ३० देखि बैशाख २२ गते भित्रको अवधीमा १४ लाख ४४ हजार एक सय पचास रुपैँया संकलन भएको जनाईएको थियो ।
यस्तै धेरै संख्यामा सुनचाँदीका विभिन्न सामाग्री समेत जम्मा भएको जनाईएको छ । अहिले पनि दैनिक सयौँको संख्यामा मन्दिरको दर्शनका लागि जाने गरेको बताईएको छ । पाथीभराको दर्शन गरे आफुले चिताएको कुराहरु पुग्ने धार्मिक विस्वास  रहिआएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget