================
गाउँका युवा बिदेसिने क्रम बढेपछि उनीहरूलाई व्यावसायिक खेतीप्रति आकर्षित गर्न मोरङ जाँते ८ का विनोद वस्तीले व्यावसायिक कागती खेती अभियान सुरु गरेका छन् ।

सिँचाइ सुुविधा अभावमा बाली नभएपछि अधिकांशले खेती छाडेर बिदेसिने क्रम बढदा चार वर्षअघिदेखि बस्तीले तीन बिघा जमिनमा कागती खेती थालेका हुन् । जग्गामा अहिले ३ हजार २ सय बोट लगाइएको छन् ।
‘मोरङको उत्तरवर्ती ती क्षेत्रमा मुख्य बाली मकै, कोदो, तोरी, फापर मात्र फल्थ्यो, खेतीपाती नसप्रेकै कारण बस्तीका अधिकांश युवा बिदेसिएका छन्,’ उनले भने, ‘गाउँले लहरमा छोरा बिदेसिन खोजेपछि रोक्नकै लागि कागती खेती सुरु गरेको हुन् ।’
विनोदसँगै खेतीमा पत्नी कमला, छोरा विवेक र एक सहयोगी दीपेन्द्र दाहाल सक्रिय छन् । वैदेशिक रोजगारीका क्रममा चार वर्ष साउदी अरब बसेर आएका दाहाल व्यावसायिक खेतीका लागि त्यही कामको सिको गर्छन ।
सुरुवाती वर्षमै ३० क्विन्टल कागती दुई लाख रुपैयाँमा बिक्री गरिसकेका उनले यस वर्ष दुई सय क्विन्टल उत्पादन गरी २० लाख आम्दानी लिने सोचाइ बनाएका छन् ।
उनले भने, अर्को वर्ष १२ सय क्विन्टलसम्म उत्पादन गर्न सक्छु भनेर कस्सिएको छु ।
स्थानीय सहकारीबाट १५ लाख र कृषि विकास बैंकबाट १० लाख ऋण लिएर कागती खेती सुरु गरेका वस्ती अचेल जाँतेलाई ‘कागती’ गाउँ बनाउने अभियानमा सक्रिय छन् । बिहान उठेदेखि साँझसम्म कागती हेरचाह र बाँकी समय अभियानमा लाग्छन् । ‘एक घर कम्तीमा ५ कागती बिरुवा रोपौं’ अभियान उनले जाँतेमा चलाएका हुन् ।

कागती गाउँ अभियान सफल बनाउन उनले स्थानीयलाई कागती रोप्न लगाएर उत्पादन आफूले नै खरिद गर्ने योजना अघि सारेका छन् । ‘कम्तीमा पनि घरमा पाँच बोट कागती रोप्न आग्रह गरेको छु,’ उनले भने, ‘चार बोटको उत्पादन खरिद गरिदिने र बाँकी एक बोट किसानलाई खान आग्रह गरेको छु, यसबाट किसान आकर्षित हुन थालेका छन् ।’
समुद्र सतहदेखि १४० देखि १३५० मिटर उचाइमा अवस्थित जाँतेमा सिँचाइ अभावकै कारण किसानले व्यावसायिक खेती गर्न पाएका छैनन् । कम उब्जाउ हुने पाखो जमिनमा कागती उत्पादन गर्न सकिने भएकाले खेतीपातीबाट पलायन भएका ती किसानलाई संगठित गरी प्राविधिक सीप सिकाएर प्रोत्साहित गर्दै कागती गाउँ बनाउने अभियानमा लागिपरेको उनले सुनाए ।
राम्रो स्याहार भयो र रोग लाग्नबाट बचाउन सकियो भने एक पटक रोपेको कागती २५ वर्षसम्म फलिरहन्छ । स्वास्थ्यका लागि राम्रो मानिने कागती धेरै उत्पादन गरेर बहुव्यवसाय जस्तै : अचार, सर्बत पनि बनाएर बिक्री गर्न सकिने भएकाले बजारमा बिक्री समस्या नभएको कृषि विकासका बागबानी अधिकृत काशीकुमार चौधरीले बताए ।

विराटनगर भन्सार नाकाबाट आव ०७२/७३ मा एक करोड पाँच लाख ९३ हजार रुपैयाँ बराबरको दुई सय ४७ मेट्रिक टन कागती भारतबाट आयात भएको छ । तथ्यांकअनुसार नेपालको बजारमा वार्षिक २६ हजार टनभन्दा बढी भारतबाट आयात हुन्छ ।
नेपालमा तराई र मध्यपहाड गरी पाँच हजार नौ सय ४२ हेक्टर जमिनमा कागतीको व्यावसायिक खेती हुँदै आएको छ । ती जग्गाबाट वार्षिक डेढ हजार टन मात्र कागती उत्पादन हुन्छ । १५ सय मिटर उचाइसम्म कागती खेती गर्न सकिन्छ ।

- भरत जर्घामगर, विरााटनगर